काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने नेपाली कामदारसँग बढी भाडा असुल्ने ट्राभल एजेन्सीमाथि सरकारले कडा एक्सन लिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको निर्देशनमा बढी भाडा लिने ट्राभल एजेन्सीविरुद्ध कानुनी कारवाही थाल्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई पत्र काटेको छ ।
काठमाडौंदेखि साउदी अरबको दमामसम्म नियमित उडानतर्फ एकतर्फी भाडादर ३५ देखि ४० हजारसम्म रहेकोमा महामारीमा सीमित उडानको मौका छोपेर ट्राभल एजेन्टहरुले २ लाखसम्म असुलेको तथ्य सार्वजनिक भएपछि कारवाही अगाडि बढाइएको हो ।
६ वर्षदेखि साउदी अरबमा इलेक्ट्रोनिकल इन्जिनियरको रुपमा कार्यरत कलमदेव साहलाई काठमाडौंको गौशालामा रहेको रस्बिता इन्टरनेशनल ट्राभल एण्ड टुर एजेन्सीले दुई लाख ७ हजार पाइएको छ । यो तथ्य बाहिर आएपछि प्राधिकरणले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र काटेको हो ।
रस्बिता ट्राभल्सले उठाएको भाडादर प्राधिकरणको भाडादरभन्दा अत्यधिक बढी देखिएको भन्दै आवश्यक छानविन गरी प्रचलित कानुन बमोजिम कारवाही गर्न प्रहरीलाई अनुरोध गरिएको छ ।