अप्पन जनकपुर
जनकपुरधाम : प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पदमुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका उपसचिव होमप्रसाद घिमिरेले बुधबार दिउँसो करिब २ बजे मन्त्रीलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई प्राप्त भएको जानकारी दिए । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो ।
तत्काललाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाउने सहमतिमा मुख्यमन्त्री राउतले रायलाई सरकारबाट फिर्ता बोलाएको बुझिएको छ ।