अप्पन जनकपुर
सप्तरी : सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना भएको छ । यसअघि राजधानीको कीर्तिपुर र बाँकेको कोहलपुरमा रहेकव सशस्त्र प्रहरीको विद्यालय सप्तरीको शम्भुनाथ नगरपालिका- ११ मा पनि स्थापना गरिएको हो ।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तानबाहेक आम जनताको छोराछोरीलाई पनि यो विद्यालयमा पढाइने बताए ।
उनले गाउँपालिका, नगरपालिकाको सिफारिसमा गरीब, असहाय, आमा बुवा नभएका व्यक्तिलाई पनि यहाँ निःशुल्क शिक्षा दिइने पनि जानकारी दिए ।
आगामी वैशाखदेखि नै यो विद्यालयमा बालबालिका भर्ना लिने विद्यालयका समादेशक डीएसपी भुवन सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार शुरुमा कक्षा ४ र ५ मा ५५ जनाका दरले भर्ना लिइनेछ ।
उनका अनुसार प्रदेश १ र प्रदेश २ का सशस्त्र प्रहरी बलका कर्मचारीलाई लक्षित गरी यो विद्यालय स्थापना गरिएको छ ।
८ बिघा ११ कठ्ठा जग्गादान
सशस्त्र प्रहरीको विद्यालय स्थापनाका लागि स्थानीय समाजसेवी जोगेन्द्र भगतले ८ बिघा ११ कठ्ठा दान गरेका छन् । विद्यालयको नाम पनि जग्गादाताको नाममा एपीएफ ठाकोदेवी जोगेन्द्र भगत विद्यालय राखिएको छ ।
भगतले उपलब्ध गराएको जग्गामा पहिलो चरणमा ६ करोड, ५१ लाख २ हजारमा एकेडेमिक भवन, प्रिन्सिपलको निवास, मुख्यद्वार, सेफ्टिक ट्यांक निर्माण भएको छ ।
यस्तै सुरक्षाकर्मी ब्लक, होस्टेल, मेससहितका भवन ७ करोड ४९ लाख ८५ हजार रुपैयाँमा निर्माणाधीन अवस्थामा रहेको समादेशक प्रहरी नायव उपरीक्षक ठकुरीले बताए ।
आइतबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले विद्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख खनालले जग्गादाता जोगेन्द्र र उनकी पत्नी ठाकोदेवीलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।