अप्पन जनकपुर
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले जिल्ला र प्रदेशको नेतृत्व मनोनयन गर्ने निर्णय परिवर्तन नहुने बताएका छन्।
पार्टीका असन्तुष्ट नेता कार्यकर्तासँग बुधबार आफ्नै निवासमा वार्ता गरेका ठाकुरले यस्तो बताएका हुन्।
पार्टी कार्यालयमै वार्ता लिने अडान राखेका धनुषा र महोत्तरीका असन्तुष्ट नेताहरू ठाकुरसँग सम्वादका लागि उनको निवास पुगेका थिए। सम्वादको क्रममा ठाकुरले प्रदेश र जिल्ला नेतृत्व मनोनयन गर्ने निर्णय नसच्चिने जवाफ दिएका हुन्।
पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी तथा नेता अनिल झासँग छलफल गरेर सहमतिमै प्रदेश र जिल्ला नेतृत्व मनोनयन गरिएको उनको भनाइ थियो।
‘चारैजना नेताबीच छलफल भएर सहमतिमै प्रदेश र जिल्लाको नेतृत्व चयन भएको हो,’ ठाकुरको भनाइ उद्धृत गर्दै वार्तामा सहभागी धनुषाका लोसपा नेता रामजी रायले भने,‘अब यसमा केही गर्न सकिँदैन। यो निर्णय परिवर्तन हुँदैन।’
प्रदेश र जिल्ला नेतृत्व मनोनयनको निर्णय परिवर्तन नहुने ठाकुरले बताएपछि वार्ताका लागि पुगेका असन्तुष्ट नेताहरूले पार्टीले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएर फर्किएका छन्।
असन्तुष्ट नेताहरूले निर्णय नसच्चिए पार्टीको प्रदेश र जिल्ला कार्यालय सञ्चालन हुन नदिने चेतावनी ठाकुरलाई दिएका हुन्।
‘विधानविपरित भएको निर्णय नसच्चिए जिल्ला र प्रदेश कार्यालय खोलेर देखाउन हामी चेतावनी दिएर त्यहाँबाट फर्किएका छौं,’ रायले भने,‘जबरजस्ती कार्यालय खोल्दा त्यसबाट हुने क्षतिको जिम्मा अध्यक्षज्यूले लिनुपर्ने हुन्छ।’
प्रदेश र जिल्लाको नेतृत्व तोक्ने निर्णयविरूद्ध प्रदेश २ का आठवटै जिल्लामा संघर्ष गर्ने चेतावनी आफूहरूले अध्यक्ष ठाकुरलाई दिएको उनले बताए।
अध्यक्ष ठाकुरले केही दिनअघि जितेन्द्र सोनललाई प्रदेश २ का अध्यक्षसहित १२ जिल्लाका नेतृत्व मनोनयन गरेका थिए। एउटै व्यक्तिलाई दोहोरो तेहरो जिम्मेवारी दिएको भन्दै लोसपा धनुषा र महोत्तरीका नेता कार्यकर्ताहरू असन्तुष्ट बनेका छन्।
निर्णय सच्याउन माग गर्दै असन्तुष्ट नेता कार्यकर्ताहरू तीन दिन बबरमहलस्थित पार्टी कार्यालयमा तीन दिन धर्नासमेत बसेका थिए।