लेखक : अजय कुमार मण्डल
काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ ।साथै हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन्।
सरस्वती स्त्रोत्रम्
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।
प्रथमं भारती नाम द्धितीयं च सरस्वती।।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।
नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।
द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।
जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।
कसरी उत्पन्न भइन् सरस्वती माता ?
सृष्टि निर्माणका समयमा सर्वप्रथम आदि शक्तिको प्रादुर्वभाव भयो । देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रम्हाजी उपस्थित भए । त्यसपति देवी लक्ष्मीले तीन देवतालाई आ-आफ्नो गुण अनुसार देवी उत्पन्न गर्नका लागि स्तुती गरिन् । माता लक्ष्मीकी प्रार्थना स्वीकार गरेर तिनै देवले आ-आफ्ना गुण अनुसार देवीको आह्वान गरे । सबैभन्दा पहिला भगवान शिवले तमोगुण महाकाली प्रकट गरे, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मीको र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आह्वान गरे ।
किन वीणाकी देवी भनिएको ?
ब्रम्हाजीले सृष्टिको निर्माण गरेपछि जव आफुले बनाएको सृष्टिको मृत शरीरको भाँति शान्त वा स्वरविहिन पायो, तब ब्रम्हाजी उदास भए । उनले आफ्नो व्यथा विष्णुलाई भने । विष्णुले ब्रम्हालाई भने, उक्त समस्याको समाधान माता सरस्वतीले गर्न सक्छिन् । माता सरस्वतीले ब्रम्हाको अनुरोधमा जसरी वीणाको तारमा स्पर्श गरिन्, त्यसैगरी ‘सा’ शब्द प्रस्फू्टन भयो । यो शब्द संगीतको सप्तसुरमा प्रथम सुर मानिन्छ । यस ध्वनिले ब्रम्हाजीको मूक सृष्टिमा स्वरमय ध्वनिको संचार भयो । हावाको, सागरको, पशु पंक्षि एवं अन्य जीवको आवाज आउन थाल्यो । यसबाट ब्रम्हाजी प्रशन्न भएर सरस्वतीको वाणीको देवीको नामबाट सम्बोधन गर्दै वागेश्वरी नाम दिए ।
बसन्त पञ्चमी किन भनिन्छ ?
यसलाई बसन्त पञ्चमी पनि भनिन्छ । वसन्तको शाब्दिक अर्थ हो, मादकता । यस समयमा धर्तीमा उत्पादन क्षमता बढ्छ, रुख बुट्यानमा नयाँ पालुवा पलाउँछ । वसन्त पाँच दिनअघि वसन्त ऋतु आरम्भ हुन्छ । यही यामलाई ऋतुहरुको पनि राजा भनिन्छ । वसन्त पञ्चमीमा कमदेव एवं रीतको पूजा गरिन्छ । यसै दिन माता सरस्वतीको जन्मोत्सव पनि मनाइन्छ ।
किन मनाउने ?
जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति। विद्या/ज्ञान/शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ । विद्या र सृजनाकी देवी भएकाले ज्ञान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पूजा आराधना गर्ने गरिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङगिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूला महत्व छ। ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ ।
कसरी गर्ने पूजा ?
पौराणिक कथन अनुसार सबैभन्दा अघि भगवान श्रीकृष्णले सरस्वतीको पूजा गरेका थिए । रातको समयमा सबै दैनिक कामबाट निवृत्त भएर नुहाई, ध्यान गरेर माता सरस्वतीको तस्विर वा मूर्ति स्थापना गर्नुपर्छ । यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ । ‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठपटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वती मिश्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ । माताको प्रतिमाअघि उभिएर श्लोकहरु उच्चारण गर्दा स्मरण शक्ति बढ्छ अनि सबै मनोकामनाहरू पूरा हुन्छन् भने
जन बिश्वास पनि छ ।
अन्य धर्ममा सरस्वती पूजाको स्थान:
आजको वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफी वसन्तका रूपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्ताबेज अनि किंवदन्तीहरूमा पाइन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्दीनका भतिजा तकुद्दीनको असामयिक मृत्युले निजामुद्दीन अत्यन्त मर्माहित भएका थिए, सुफीका महान कवि अमिर फुस्रोले फकिरलाई खुसी पार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दै गएर फकिरलाई हँसाउन सकेको र यो दिनलाई सुफी वसन्त पनि भनिएको जनउक्तिहरू पाइन्छ । त्यसपश्चात् आजको दिनलाई निजामुद्दीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैँ सुफी वसन्तका रूपमा मनाउन थालिएको हो ।(स्रोत: हाम्रो पात्रो )
“लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । ‘क’ देखि ‘ज्ञ’ सम्मका वर्णमाला अनि शब्द विन्यासहरूले हामीलाई ज्ञान अभिव्यक्त गर्दा सदैव साथ दिउन् । ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ आदिका अक्षरशः प्रयोग जारी रहोस् । व्याकरणले साथ दियोस् । ए’ ‘बी’ ‘सी’ ‘डी’ आदिका अक्षरशः प्रयोग जारी रहोस् । व्याकरणले साथ दियोस् । सङ्गीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरूले साथ दिउन् l मुख्य कुरा शृङ्गार रसले जीवन भरिपूर्ण होस् । सरस्वती माताकी जय !”
लेखक : अजय कुमार मण्डल