काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । जससँगै उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर बनेका छन् ।
सन्दीपले सोमबार आयरल्यान्डविरूद्धको खेलमा ५० विकेट पूरा गरेका हुन् । ओमानमा जारी टी-२० सिरिजमा उनले आयरल्यान्डका जर्ज डकरेललाई २८ रनमा आउट गरेका हुन् ।
सन् २०१८ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका सन्दीपले २९ खेलमा ५० विकेट पूरा गरे । टी-२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ४ विकेट लिँदा २० रन दिनु हो ।
उनले समग्र टी-२० मा भने ११८ खेलमा १५५ विकेट लिइसकेका छन् । उनी नेपालका लागि टी-२० मा सय विकेट पूरा गर्ने पहिलो खेलाडी हुन् ।
सन्दीप नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् । सन्दीपपछि दोस्रो स्थानमा रहेका करण केसीले ३३ खेलबाट ४४ विकेट लिएका छन् ।
सन्दीप नेपालका लागि एकदिवसीय खेलमा पनि सर्वाधिक विकेट लिने बलर हुन् । सन्दीपले अहिलेसम्म १६ एकदिवसीय खेलमा ४१ विकेट लिइसकेका छन् । दोस्रो स्थानमा रहेका करण केसीले १४ खेलमा २१ विकेट लिएका छन् ।